महर्षि व्यास: वेदहरू सङ्कलन गर्ने एवं महाभारत रच्ने महापुरुष

सद्‌गुरु: हजारौँ वर्षअघि पराशर नाम गरेका महान् ऋषि थिए । अथाह ज्ञान भएका यी बुद्ध पुरुष पराशर महर्षिका नामले परिचित थिए । त्यसबेला समाजमा यस्तो परिस्थिति सृजना भयो, जहाँ राजाहरू सत्ता र शक्तिमा लिप्त भएर मात्तिन थाले अनि ब्राह्मणहरूको धर्मलाई सम्मान गर्न छाडे । साथै, धेरै हदसम्म ब्राह्मणहरू पनि भ्रष्ट भएका थिए, जसकारण आफूले पाउने गरेको श्रद्धा र सम्मान गुमाउँदै गए । यही द्वन्द्वको कारण समाजमा संघर्ष र मनमुटाव चुलिँदै गएको थियो ।

तसर्थ, पराशरले ब्रह्मतेज (ब्राह्मणहरूको धर्म) र क्षत्रतेज (क्षेत्रीयहरूको धर्म) बिच केही समन्वय ल्याउनको निम्ति एउटा अभियान शुरु गरे । उनले समाजका विभिन्न वर्गहरूबिच सामञ्जस्य स्थापित गर्ने हेतुले सैयौँ आश्रमहरू स्थापना गरे अनि त्यसबेलाका राजाहरूसँग राम्रो सम्बन्ध बनाउने प्रयास गरे । उनले एउटा विशाल अभियान थालनी गरेका हुनाले उनलाई सबैले श्रद्धा र सम्मानको नजरले हेर्दथे । साथसाथै, जो मानिसहरू यस अभियानको विरुद्धमा थिए, उनीहरू स्वतः उनका शत्रु बने ।

एकदिन पराशरको आश्रममा आक्रमण गरियो, जसपश्चात उनको खुट्टामा निकै गहिरो चोट लाग्यो । उनी जसोतसो त्यहाँबाट भागे, अनि निकै प्रयत्न गरेर डुङ्गा खियाउँदै एउटा सानो टापुमा पुगे, जहाँ केही माझीहरू बसोबास गर्दथे । उनको अवस्था देखेर माझीहरूले उनलाई आफूसँगै लिएर गए । उनको उपचार र हेरचाहको जिम्मा मत्स्यगन्धी लाई दिइएको थियो, जो त्यहाँका मुखियाकी छोरी थिइन् । मत्स्यगन्धी भनेको “माछाको जस्तै गन्ध उत्सर्जन गर्ने” भन्ने बुझिन्छ । मत्स्यगन्धी भर्खरकी युवती थिइन् । उनले पराशरको स्वास्थ्यको राम्रो ख्याल राखिन् । आफ्नो गम्भीर चोट निको नहोउञ्जेल उनी लगभग एक बर्षभन्दा बढी समयसम्म त्यहीँ माझीहरूसँगै बसे । उनको चोट निको भइसकेपछि पनि उनी कहिल्यै सिधा हिँड्न सकेनन् ।

आफ्नो बच्चाले त्यहाँ बस्ने माझी समुदायबाट मात्र नभई आफ्ना बुबाको विवेक र ज्ञानबाट समेत केही सिकोस् भन्ने हेतुले उनी आफूले जानेका सामान्य तरिकाहरू अपनाउथिन् ।

कृष्ण द्वैपायन (व्यास) को जन्म

पराशरको अपार ज्ञान र विवेकले भरिपूर्ण व्यक्तित्वप्रति मत्स्यगन्धी स्वाभाविक रूपमा आकर्षित भइन् । पराशर र मत्स्यगन्धीको बिचमा प्रेम सम्बन्ध बस्यो र अन्ततः एउटा बच्चाको जन्म भयो । तर त्यसबेलासम्म, पराशरको स्वास्थ्यमा राम्रो सुधार भइसकेको हुनाले उनले आफ्नो काम जारी राख्न गाउँ छाडे । नवजात शिशुको नाम कृष्ण द्वैपायन राखियो । त्यसबेला पनि “कृष्ण“ लोकप्रिय नाम थियो । “कृष्ण” को शाब्दिक अर्थ “आकर्षित गर्ने” हो । “द्वैपायन” को अर्थ “द्वीप वा टापुमा जन्मिएको” हो । उनी यमुना नदीको टापुमा जन्मिएका हुनाले उनको नाम कृष्ण द्वैपायन राखिएको थियो । यिनै बालक पछि ठूलो भएर महाभारत का रचयिता महर्षि व्यास बने ।

कृष्ण द्वैपायन हुर्किँदै गर्दा, बोल्न र बुझ्न सक्ने भएदेखि नै उनी आफ्नी आमालाई सोध्ने गर्थे, “मेरो बुबा को हो ?” उनकी आमाले उनलाई पराशर एक महान् पुरुष भएको बताउँदै थुप्रै अद्‌भुत कथाहरू सुनाउँथिन् । आफ्नो बच्चाले त्यहाँ बस्ने माझी समुदायबाट मात्र नभई आफ्ना बुबाको विवेक र ज्ञानबाट समेत केही सिकोस् भन्ने हेतुले उनी आफूले जानेका सामान्य तरिकाहरू अपनाउथिन् ।

आफ्ना बुबा एक अद्‌भुत मानिस भएको थुप्रै कथाहरू सुनेको हुनाले, कृष्ण द्वैपायन आफ्ना बुबासँगै यात्रा गर्ने ठूलो धोको लिएर हुर्किँदै गए । उनको एकमात्र लक्ष्य भनेको आफ्ना बुबासँग यात्रा गर्नु थियो ।

आफूले कहिल्यै नदेखेको बुबाप्रति ठूलो श्रद्धा र सम्मान बोकेर उनी हुर्किँदै गए । द्वैपायनले जतिबेला पनि आफ्नी आमालाई सोध्ने गर्थे, “बुबा किन यहाँ बस्नुहुन्न ?” मत्स्यगन्धीले छोरालाई उसको बुबा महान् कार्यमा लागेका अनि सबैतिरबाट उनलाई आफ्नो ज्ञान र विवेक फैलाउनको निम्ति पुकारिएको हुनाले उनले यात्रा गरिरहनु परेको कुरा बताउँथिन् । त्यसपछि द्वैपायनले प्रश्न गर्थे, “उहाँ हामीसँग बस्न सक्नुहुन्न भने, किन हामी उहाँसँग जान सक्दैनौँ त ?” आमाले जवाफ फर्काउँथिन्, “उहाँ हामीलाई आफूसँगै लैजान सक्नुहुन्न, किनकि उहाँले विभिन्न प्रकारका परिस्थितिहरू सामना गर्नुपर्ने भएकोले जतिबेला पनि यात्रा गरिरहनु हुन्छ ।”

आफ्ना बुबा एक अद्‌भुत मानिस भएको थुप्रै कथाहरू सुनेको हुनाले, कृष्ण द्वैपायन आफ्ना बुबासँगै यात्रा गर्ने ठूलो धोको लिएर हुर्किँदै गए । उनको एकमात्र लक्ष्य भनेको आफ्ना बुबासँग यात्रा गर्नु थियो । उनले माझी बस्तीका अरू बच्चाहरूलाई भन्ने गर्थे, “मेरो बुबालाई ताराहरूको बारेमा थाहा छ, सूर्यको बारेमा थाहा छ, चन्द्रमाको बारेमा थाहा छ । उहाँलाई थाहा नभएको कुनै चीज नै छैन ।” उनीप्रति भनिएका यी कुराहरू पूर्णतया गलत थिएनन्, किनकि वास्तवमै पराशर त्यस किसिमका मानिस थिए ।

द्वैपायनको उमेर छ वर्ष हुँदा, पराशर फेरि एकपटक गाउँ फर्किए । उनको सपना साकार भयो ! त्यस रात आफ्ना पितालाई देखेर उनले आँखा झिमिक्कै नगरी हेरिरहे । उनी आफ्ना बुबासँग बसिरहन चाहन्थे अनि आफ्ना बुबाले जान्नुभएका सबैकुरा जान्न चाहन्थे । किनकि, द्वैपायनको नजरमा उनका बुबालाई सबैकुरा थाहा थियो अनि उनी पनि ती सबैथोक पूरै जान्न चाहन्थे । उनले आफ्ना बुबालाई थुप्रै, थुप्रै प्रश्नहरू सोध्थे र आफ्ना बुबाले बोलेका सबैकुरामा मग्न हुन्थे । उनको सिक्ने र बुझ्ने क्षमता यति उच्च थियो कि कुनै पनि कुरालाई एकपटक भनेपछि पुनः दोहोऱ्याएर भन्नु पर्दैनथ्यो । कुनै कुरालाई एकचोटि भनियो भने, त्यो ऊभित्र गढ्थ्यो ! पराशर आफ्नो बच्चाको क्षमता देखेर चकित पर्दथे ।

जब पराशर फर्किने समय भयो, द्वैपायनले भने, “म तपाईसँग जान चाहन्छु ।”

“तिमी एक अद्‌भुत बालक हौ, तर तिमी अहिले छ वर्षको मात्रै भएको छौ । तिमी मसँग आउन मिल्दैन ।”– पराशाराले भने ।

द्वैपायनले सोधे, “मैले दुई वर्षपछि मात्र गर्न सक्ने, तर अहिले गर्न नसक्ने त्यस्तो कुनै कुरा छ र ?”

जब पराशरले बालकलाई हेरे, उनले यो प्रश्नको उत्तर दिन सकेनन् । किनकि, बौद्धिक रूपमा उनी ती सबै काम सजिलै गर्न सक्थे, जुन तीस वर्षको वयस्कलाई समेत हम्मेहम्मे पर्थ्यो ।

तब पराशाराले भने, “तिमी मसँग मेरो छोरो भएर यात्रा गर्न मिल्दैन । मैले आफ्नो छोरोलाई सँगै लिएर विश्वभरि यात्रा गर्नु उचित हुँदैन । मेरा शिष्यहरू मात्रै मसँग जान सक्छन् ।”

द्वैपायनले भने, “त्यसो हो भने, मलाई आफ्नो शिष्य बनाउनुहोस् ।”

पराशरले पुन: भने, “तिमी अझै बालक छौ । छ वर्षको मात्रै भएको छौ । आफ्नी आमासँग अझ केही समय बिताऊ ।”

तर द्वैपायन हठी थिए, “नाई, म जान चाहन्छु । तपाईं मलाई अहिल्यै शिष्यको रूपमा दीक्षा दिनुहोस् । म तपाईसँगै जान्छु ।”

अब पराशरसँग कुनै विकल्प रहेन । उनले छ वर्षको बालकलाई ब्रह्मचर्यमा दीक्षित गरे अनि आफ्नो शिष्य बनाए । मुण्डन गरेपछि हातमा भिक्षा पात्र बोकेर ती बालकले आफ्ना बुबालाई पछ्याए, जो अब उनका गुरु बनेका थिए ।

आफू र आफ्ना गुरुका निम्ति माग्दै हिँडेको यो सानो बालकको दृढता देखेर उनीहरूले आफ्नो क्षमताले भ्याएसम्म थुप्रै कुराहरू दिन्थे ।

महर्षि व्यासको ब्रह्मचर्य

ब्रह्मचर्यको पहिलो दिन नै द्वैपायन आफ्नो भिक्षा माग्न बाहिर निस्किए । छ वर्षको सानो बालक आफ्नो बालसुलभ आवाजमा ‘भिक्षाम् देही” भन्दै भिक्षा माग्न गए । मानिसहरूले यो सुन्दर बालकलाई देखेर धेरै खाने कुराहरू दिए । आफू र आफ्ना गुरुका निम्ति माग्दै हिँडेको यो सानो बालकको दृढता देखेर उनीहरूले आफ्नो क्षमताले भ्याएसम्म थुप्रै कुराहरू दिन्थे । उनले आफूले बोक्नै नसक्ने गरी खानेकुराहरू पाउँथे । एकदिन घर फर्कने क्रममा, उनले सडकमा यस्ता थुप्रै बच्चाहरू देखे, जसको अनुहार हेर्दा उनीहरूले धेरै दिनदेखि राम्रोसँग खान पाएका छैनन् भन्ने प्रष्टै बुझिन्थ्यो । उनले ती बच्चाहरूलाई सबै खानेकुराहरू दिए अनि रित्तो भिक्षा पात्र लिएर आफ्नो गुरुसमक्ष पुगे ।

रित्तो भाँडो बोकेर आएको देखेर पराशरले बालकलाई सोधे,“के भयो ? भिक्षा माग्न गएनौँ ? कि कसैले पनि केही दिएनन् ? किन रित्तो पात्र लिएर आएको ?” द्वैपायनले भने, “सबैले मलाई धेरै खानेकुराहरू दिनुभएको थियो, तर मैले बाटोमा खान नपाएका स–साना भाइबहिनीहरू देखेँ, त्यसैले मैले सबै खानेकुरा उनीहरूलाई दिएँ ।” पराशरले उनलाई हेरेर भने, “ ए ! ठीक छ ।” त्यस दिन द्वैपायन भोकै बसे ।

भलै भोकाएको भए तापनि, छ वर्षिय बालकले प्रतिबद्ध भएर आफ्नो अध्ययन प्रक्रियाहरू जारी राखे । यस्तो दिनदिनै हुन थाल्यो अनि ती बालक केही नखाइकनै बस्थे । महर्षि व्यासले आफ्नो जीवनमा पछिसम्म पनि यो गुण कायम राखे— आफू वरपरका सबैले नखाउन्जेल उनी कहिल्यै खाँदैनथे । पहिला अरू सबैलाई खुवाउँथे अनि केही बच्यो भनेमात्र उनी खान्थे । अन्यथा, उनी खाँदैनथे ।

सानै उमेरमा द्वैपायन (व्यास) ज्ञान र प्रज्ञाले भरिएका महापुरुष बने । सोह्र वर्षको हुँदा कतै पनि उनी बराबरको अरू कोही थिएनन्; उनी महाज्ञानी भइसकेका थिए ।

छ वर्षको बालकले ३–४ दिनसम्म केही नखाँदा पनि आफ्नो अध्ययन र कर्तव्यहरू निरन्तर जारी राखेको देखेपछि पराशरले बालकको यस सामर्थ्यलाई नियाले अनि उनमा विशाल सम्भावना देखेर आफ्नो सम्पूर्ण ज्ञान उनमा प्रवाहित गर्न थाले । अरू व्यक्तिलाई जुन कुरा सिकाउनको लागि सय वर्ष लाग्ने थियो, उनले यी बालकलाई निकै छोटो समयमा सञ्चारित गरे ।

आफ्ना बुबाको छत्रछायाँमा हुर्किएको हुनाले महर्षि व्यासको बौद्धिक क्षमता अविश्वसनीय प्रतीत हुन्थ्यो । बिस्तारै–बिस्तारै उनको ज्ञान यस हदसम्म बढ्दै गयो कि पराशरले उनलाई एउटा कुरा सिकाए भने, उनी त्योसित जोडिएका अरू दशवटा कुराहरू समेत जान्दथे । उनी आफ्ना बुबालाई एकाग्र भएर सुनिरहन्थे, जसकारण उनी जुनसुकै कुरालाई पनि सजिलै बुझ्न र अनुभव गर्न सक्थे । सानै उमेरमा द्वैपायन (व्यास) ज्ञान र प्रज्ञाले भरिएका महापुरुष बने । सोह्र वर्षको हुँदा कतै पनि उनी बराबरको अरू थिएनन्; उनी महाज्ञानी भइसकेका थिए ।

वेद व्यास

त्यस समयमा तीनवटा वेदहरू मात्र थिए । महर्षि व्यासले नै अर्का महान् ऋषि महाथर्वनको सहयोगमा त्यस बेलाको समुदायलाई चौथो वेद— अथर्ववेदलाई— अन्य तीन वेद सरह स्थान दिन सहमत गराए । अथर्व वेद तन्त्र विद्या वा भनौँ संसारमा विभिन्न कार्यहरू गर्नको लागि ऊर्जाहरूलाई कुशलतापूर्वक प्रयोग गर्ने विज्ञानसँग सम्बन्धित छ । वैदिक परम्पराहरूले शुरुमा यसलाई वर्जित गरेका थिए अनि यसलाई अरू वेदहरू सरह स्थान दिन अस्वीकार गरेका थिए । अथर्ववेदलाई मानिसहरूले दुरुपयोग गर्ने सम्भावना देखेर ठूलो समुदायले यसलाई उपेक्षा गरेको थियो, जसकारण त्यसबेला तीनवटा वेदहरू मात्र थिए । तर, अर्थववेदको विज्ञान आफैँमा गलत थिएन । किनकि, हामी कुनै पनि चीजलाई कुन तरिकाले प्रयोग गर्छाैँ भन्ने कुराले बढी महत्त्व राख्छ । केही व्यक्तिहरूले अर्थव वेदको दुरुपयोग गरे भन्दैमा विज्ञानलाई नै प्रतिबन्ध लगाउन आवश्यक छैन भन्ने कुरा महर्षि व्यासले सबैलाई बुझाए । अन्ततः ऋषि महाथर्वनले अर्थववेदलाई पवित्र वेदहरूमा समावेश गराउन र उत्तिकै महत्त्व दिलाउनको लागि पराशर र कृष्ण द्वैपायनसँग मिलेर काम गरे ।

महर्षि व्यासले महाभारत मात्रै रचेका होइनन्, बरु वेदहरूको सङ्कलन पनि गरेका थिए ।

वेदहरूको सङ्कलनकर्ता

महर्षि व्यासले महाभारत मात्रै रचेका होइनन्, बरु वेदहरूको सङ्कलन पनि गरेका थिए । यस्तो भनिन्छ कि वेदहरू एक लाख वर्षभन्दा पनि पुराना छन् । त्यस ज्ञानलाई एक पुस्तादेखि अर्को पुस्तासम्म मौखिक रूपमा प्रसारित गरिँदै लगिएको थियो । वास्तवमा, त्यसबेलाका मानिसहरूले ध्वनिको महत्त्व र प्रभावलाई राम्रोसँग बुझेका थिए, त्यसैले यसलाई लिपिबद्ध गर्न चाहेनन् । हामीले जे–जति चीजहरूको प्रयोग गर्छाैँ, तीमध्ये भौतिक पक्षको सबैभन्दा सूक्ष्म रूप भनेको ध्वनि हो । त्योभन्दा पनि सूक्ष्म रूप भनेको विद्युत–चुम्बकीय तरङ्गहरू हुन्, जुन हाम्रो मस्तिष्कमा समेत हुन्छन् । त्यस समयका मानिसहरूले विचारहरू, भावनाहरू र अन्य कुराहरूलाई खासै महत्त्व दिएनन्, तर ध्वनिलाई एकदमै महत्व दिए किनकि यो भौतिक पक्षको सबैभन्दा सूक्ष्म रूप हो, जसको प्रयोगले व्यापक प्रभाव पार्न सकिन्छ ।

गङ्गा नदीको समृद्ध मैदानमा अनिकाल लाग्नुपूर्व वेद मौखिक परम्पराबाटै अघि बढिरह्यो । लगभग १४ वर्षसम्म अनिकाल रह्यो । यस्तो भनिन्छ कि ती पूरै वर्षहरूमा एक थोपा पानी समेत परेन । बालीनालीहरू सुके अनि त्यसबेलाको सभ्यता मुर्झाउँदै गयो । मानिसहरूले वेदहरूको पाठ गर्न बिर्सिए, किनकि उनीहरू यताउती खानेकुराहरू बटुल्नमा नै व्यस्त थिए । उनीहरूले आफ्नो परम्परालाई पूर्ण रूपमा बिर्सिए । धेरैपछि जब एकपटक पुनः वर्षा भयो अनि व्यासाले त्यस सभ्यतामा भएको क्षति नियाले, तब उनले वेदहरू लेखिनु नै उत्तम हुनेछ भन्ने सोचे । तसर्थ, उनले वेद सङ्कलन गर्न थाले । यस्तो भनिन्छ कि उनले पूरै वेदको ८ प्रतिशत मात्र सङ्कलन गर्न सकेका थिए । यसलाई क्रमशः ऋगवेद, अथर्ववेद, सामवेद र यजुर्वेद गरी चार भागहरूमा बाँडियो । यो परम्परागत क्रम हो; मानिसहरूले आज फरक क्रममा प्रयोग गर्ने गरेका छन् । आज पनि यी चार वेदहरूलाई मानव जातिले रचना गरेको सबैभन्दा महान् ग्रन्थ मानिन्छ ।

लिखित ग्रन्थ यति आकर्षक थियो, यति महान् साहित्यिक ग्रन्थ भएको थियो कि देवताहरू आएर चोरेर लगे । हामी आज महाभारतलाई जुन रूपमा जान्दछौँ, त्यो वैशम्पायनले याद गरेका भाग मात्र हो— यो गणपतिद्वारा लिखित संस्करण होइन ।

महाभारतको रचयिता

महर्षि व्यास, सदाका लागि प्रासङ्गिक रहन सक्ने एउटा महान्, सनातन कथा लेख्न चाहन्थे । उनले यो कुथा दुईजना व्यक्तिहरूलाई सुनाए— आफ्नो शिष्य वैशम्पायन अनि देवता गणपति । वैशम्पायनले पूरै विस्मय भावमा यो कथा सुनेका थिए । तर, शिष्यहरूले केही कुराहरू बङ्ग्याउन सक्छन् ! मानिसले आफ्नो स्मृति (स्मरण) को माध्यमले मौखिक रूपमा सम्प्रेषण गर्ने विधि सत्य युगमा काम गर्थ्यो, किनकि त्यसबेला मानिसहरूमा विशेष मानसिक क्षमता हुन्थ्यो । जसैजसै कलियुग आउँदै गयो, मानव मस्तिष्क र स्मृतिको क्षमतामा ह्रास आउँदै गयो । व्यासले कुनै जोखिम नलिनु नै उत्तम ठाने, अतः उनले वेद लेख्नका लागि गणपतिलाई पुकारे ।

त्यहाँ एकजना लेखिरहेका हुन्थे अनि अर्काले केवल सुनिरहन्थे । तर दुर्भाग्यवश, लिखित ग्रन्थ यति आकर्षक थियो, यति महान् साहित्यिक ग्रन्थ भएको थियो कि देवताहरू आएर चोरेर लगे । हामी आज महाभारतलाई जुन रूपमा जान्दछौँ, त्यो वैशम्पायनले याद गरेका भाग मात्र हो— यो गणपतिद्वारा लिखित संस्करण होइन । पछि युद्ध समाप्त भयो अनि वैशम्पायनले यो कथा हस्तिनापुरका सम्राट जनमेजयलाई सुनाए । सम्राट जनमेजय युधिष्ठिरका दोस्रो उत्तराधिकारी थिए । हामीलाई महाभारतको जुन एक लाख श्लोकहरूको बारेमा थाहा छ, त्यो व्यासले भनेका श्लोकहरूको सानो भाग मात्र हो । यी एक लाख श्लोकहरूमध्ये, म तपाईंहरूलाई आठ प्रतिशतभन्दा पनि कमको बारेमा मात्रै बताउनेछु !

साभार:- https://isha.sadhguru.org/

Related Posts

by
Previous Post Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

74 shares