आगामी १५–३० वर्ष मानवताको लागि निर्णायक !

मनुष्यको रूपमा हामी थुप्रै प्रकारका क्रियाकलापहरू गर्न सक्छौँ । तर, हाम्रा क्रियाकलापहरूको प्रकृति जस्तोसुकै भए तापनि, आजको विश्वमा कटिबद्ध व्यवसायीहरूसमेत प्रभावको कुरा गरिरहेका छन्, लाभको होइन । “प्रभाव” को आशय “हामी अरू कसैको जीवनलाई छुन चाहन्छौं” भन्नु हो । व्यवसायीहरूले प्रभावको बारेमा कुरा गरिरहँदा वा तपाईं कसैसँग व्यक्तिगत सम्बन्ध बनाइरहँदा, वास्तवमा, तपाईं कहीँकतै केही समयको लागि अरूसँगको सीमा वा दायरा भत्काउन चाहिरनु भएको हुन्छ ।

यदि तपाईंले होशपूर्वक आफ्ना सीमाहरू मेटाउनुभयो भने, कुनै कामबाट पाउने अनुभव भन्दा यहाँ यत्तिकै बसेर पाउने अनुभव खर्बौँ गुणा बढी हुन्छ, र त्यो अनुभव अद्‌भुत हुन्छ ।

योगी हुनु भनेको आफ्नो व्यक्तित्व वा छुट्टै अस्तित्व हुनुको सीमारेखालाई मेटाउन तयार रहनु हो । कुनै न कुनै तरिकाले तपाईं बाँकी ब्रह्माण्डबाट आफूलाई अलग्याउने सीमाहरू मेटाउन चाहिरहनु भएको हुन्छ । योग भनेको वैज्ञानिक तरिकाबाट त्यस दिशातर्फ बढ्नु हो । त्यसको लागि तपाईंले कुनै विशाल मात्रामा काम गर्नुपर्दैन; तपाईं कामवासनामा लिप्त हुनुपर्दैन; तपाईं कुनै पनि कुरामा अल्झेर बस्नुपर्दैन । यदि तपाईंले होशपूर्वक आफ्ना सीमाहरू मेटाउनुभयो भने, कुनै कामबाट पाउने अनुभव भन्दा यहाँ यत्तिकै बसेर पाउने अनुभव खर्बौँ गुणा बढी हुन्छ, र त्यो अनुभव अद्‌भुत हुन्छ । आफ्ना सीमाहरूलाई मेटाउनु नै योग हो ।
निरर्थक प्रयासहरू

योगको अर्थ “म अनि बाँकी ब्रह्माण्ड” भन्ने मूर्खतापूर्ण सोचलाई बुझ्नु हो ।

यस धरतीमा मानिसहरूले गरिरहेका सम्पूर्ण वाहियात् कामहरूको मूल कारण ठोस सीमाहरू हुन् । मानिसहरूले आफ्ना सीमाहरूलाई यति ठोस बनाएका छन् कि यदि दुईजना व्यक्तिहरू भेटे भने, जुध्न थालिहाल्छन् । योग भनेको शरीरलाई यताउती बङ्ग्याउने वा बटार्ने अभ्यास होइन; यो मोटोपन घटाउने वा तनावमुक्त गराउने कार्यक्रम समेत होइन । वास्तवमा, योगको अर्थ “म अनि बाँकी ब्रह्माण्ड” भन्ने मूर्खतापूर्ण सोचलाई बुझ्नु हो । जे तपाईंको जीवनको मूल स्रोत हो, उसैसँग प्रतिस्पर्धा गर्नु भनेको पूर्णतया मूर्खता हो । जब तपाईंलाई यो कुरा ज्ञात हुन्छ, तपाईं योगतर्फ बढिरहनु भएको हुन्छ ।
तपाईंले यो कसरी गर्नुहुन्छ भन्ने कुराले कुनै अर्थ राख्दैन । तपाईं चाहे यसलाई प्रभाव भन्नुहोस्, सेवा भन्नुहोस् वा अरू जेसुकै नाम दिनुहोस्, मूलत: जब तपाई म अनि बाँकी संसार भन्नु मूर्खतापूर्ण प्रतिस्पर्धा हो भन्ने कुरा जान्नुहुन्छ, तपाईं आफ्ना सीमाहरूलाई खुकुलो बनाउन थाल्नुहुन्छ— यही योग हो । यसको अर्थ ‘असफल नहुने तरिकाले’ त्यसतर्फ बढ्नु भन्ने हो । जब दुई व्यक्तिहरू प्रेममा पर्छन् वा विवाह गर्छन्, उनीहरूलाई आफूहरू योगमा भएको लाग्दछ, आफूहरूले सबै सीमाहरू भत्काएको ठान्छन् । तर, केही समयपछि यो असफल नहुने तरिका होइन रहेछ भन्ने कुरा महसुस हुनेछ ।
तपाईंले केही क्षणहरूको लागि मात्रै सीमा भत्काउनु भएको हुनाले केही समयपछि प्रतिशोधको भाव उत्पन्न हुनेछ । दुईजना व्यक्तिहरू केही समय सँगै रहेपछि, एक–अर्काको विरुद्धमा जानैपर्छ भन्ने छैन । सँगै रहँदा सुख–सुविधाहरू हुन सक्छन् । केही विरलै पलहरूमा उनीहरूले एक–अर्काबिचको सीमा मेटाएका पनि हुन सक्छन् । बाँकी समयमा यो एक–अर्काबाट कसरी फाइदा धुत्न सकिन्छ भन्नेमा नै केन्द्रित हुन पुग्दछ । योगको स्वरूप जस्तोसुकै भएपनि मूलतः योगको अर्थ यही हो: सर्वप्रथम, तपाईं आफ्ना सीमाहरू मेटाउन इच्छुक बन्नुहुन्छ । अनि त्यसपछि, यदि तपाईंलाई त्यसले दिने आनन्द अनुभूति भयो भने, तपाईं आफ्नो सेरोफेरोमा सबैमाथि यो अनुभव घटोस् भन्ने चाहनुहुन्छ ।

शरीर र मन जीवनका सबैभन्दा आधारभूत साधनहरू हुन्, तर यी दुवै व्यक्तिको विरुद्धमा काम गरिरहेका हुन्छन् । चाहे तपाईं यसलाई दुःख, पीडा, रोग भन्नुहोस्, वा अरू कुनै नाम दिनुहोस्— मूलत: जीवनका दुई आधारभूत साधनहरू तपाईंको विरुद्धमा गएका छन् ।

जीवनको विडम्बना
मूलभूत रूपमा जीवनको विडम्बना के हो भने, जीवनका साधनहरू नै हामी विरुद्ध काम गरिरहेका हुन्छन् । शरीर र मनबिना यहाँ रहन सम्भव छैन । शरीर र मन जीवनका सबैभन्दा आधारभूत साधनहरू हुन्, तर यी दुवै व्यक्तिको विरुद्धमा काम गरिरहेका हुन्छन् । चाहे तपाईं यसलाई दुःख, पीडा, रोग भन्नुहोस्, वा अरू कुनै नाम दिनुहोस्— मूलत: जीवनका दुई आधारभूत साधनहरू तपाईंको विरुद्धमा गएका छन् ।
यी दुवै चीजहरूलाई आफ्नो अहितमा नभई आफ्नै हितमा राख्नु हाम्रो प्रमुख दायित्व हो । यदि हाम्रो शरीर र मन नै हामी विरुद्ध गए भने, मनुष्य हुनुको सम्भावना कहिल्यै जान्न सकिँदैन । मानौँ, तपाईंको टाउको दुखेको छ— कुनै ठूलो समस्या होइन, क्यान्सर होइन— एउटा सामान्य टाउको दुखाइले पनि तपाईंको जीवन अस्तव्यस्त बनाइदिन्छ । वा भनौँ, तपाईंको नाक जतिबेला पनि बन्द भइरहन्छ, कुनै ठूलो समस्या होइन, सामान्य रुघा मात्रै । पहिला त तपाईं भन्नुहोला, “के नै ठूलो कुरा हो र ?” तर, मानिलिनु होस् कि त्यो केही वर्षसम्म रहिरह्यो भने, तपाईंले देख्नुहुनेछ कि जीवन्त हुनुको भाव नै रहँदैन । कुनै क्यान्सर वा हृदयघातले नभई सामान्य रुघाले गर्दा नै जीवन्तता समाप्त हुन्छ । यदि तपाईंको शरीर, तपाईंको मन नै तपाईं विरुद्ध काम गर्न थाले भने, तपाईंले मनुष्य हुनु भनेको के हो भन्ने कुराको सम्पूर्ण आयामलाई पूरै गहिराइमा खोज गर्न सक्नुहुन्न ।
सबैथोकलाई आफ्नो हितमा काम गर्ने बनाउनुहोस्
केही मानिसहरूमा सम्पूर्ण ब्रह्माण्ड नै उनीहरूको विरुद्धमा छ भन्ने धारणा रहेको हुन्छ । उनीहरू जसरी बाँचिरहेका छन्, त्यसले गर्दा नै उनीहरूलाई त्यस्तो लाग्छ । जब तपाईंमा यस किसिमको विरोधी भावना आउँछ, तपाईं बाँच्न सक्नुहुन्न । योग भनेको शरीर, मन, अस्तित्व सबैथोकलाई हामीसँगै काम गर्ने बनाउनु हो; अझ राम्रो त यो हुन्छ कि हामी नै यी सबैसँग काम गरौँ । यस्तो स्थितिमा यदि केही भयो भने, त्यो रामो; यदि केही पनि भएन भने, त्यो झन् गज्जब ! आज केही महत्वपूर्ण काम गर्नुपर्नेछ भने, उत्तम; गर्नुपर्ने केही पनि छैन भने, सर्वोत्तम ! तर प्रायः मानिसहरूको सन्दर्भमा, केही भयो भने समस्या हुन्छ; केही पनि भएन भने त अति विशाल समस्या हुन्छ ।
योग भनेको तपाईं सबैथोकको एउटा अंश बन्नु हो । तपाईंको आफ्नै व्यक्तिगत अस्तित्व हुन्छ, तैपनि अब सीमाहरू भने अलि खुकुलो र खुला हुन्छन् । यसैकारण, कुनै न कुनै रूपमा हामी सबैथोक बनेका हुन्छौँ, अनि तबपनि हामी जुनसुकै चीजसँग सहजै रहन सक्छौँ । यदि तपाईंले आफ्ना सीमाहरू पूरै खुला गर्नुभयो, अनि अस्तित्व र यसको स्रोतले तपाईंसँग सहकार्य गर्न थाले भने, हुनुपर्ने कुरा अवश्य हुनेछ । योग भनेको यही हो— सबैथोकसँग तालमेलमा रहनु, किनकि तपाईंले आफ्ना सीमाहरू खुकुलो पार्नु भएको हुन्छ । तपाईं आफ्ना सीमाहरूमा प्वालै प्वाल पार्नुहोस्, ताकि जीवन त्यसबाट भित्र छिरोस्, जहाँ तपाईं आफ्नै शरीर र मन रूपी पिँजडामा कैदी बनेर रहनुहुन्न ।

अत: योगीहरू एक्लै बस्ने गर्दथे— उनीहरूलाई अरू कसैको वास्ता नभएकोले होइन, बरु यसकारण किनकि उनीहरू एक्लै आनन्दित भएर रहन सक्थे ।

अधिकांश मानिसहरू आफ्नै शरीर र मनका बन्दी हुन्छन् । तपाईंभित्र जुन जीवन रहेको हुन्छ, त्यसलाई काम गर्न दिनको लागि तपाईंको शरीर र मन एउटा मञ्च बन्नुको सट्टा स्वयं जीवनलाई बन्दी बनाउने पर्खाल बन्दछन् । यस्तो स्थितिमा यो जीवन बाँच्न योग्य छ भन्ने कुरा महसुस गर्नको लागि तपाईंले सदैव आफूलाई अनेक थरीका कुराहरूले भर्नुपर्ने हुन्छ; तपाईं आफूमात्र नभई अरूहरू पनि त्यसैगरी रहून् भन्ने अपेक्षा राख्नुहुन्छ । अत: योगीहरू एक्लै बस्ने गर्दथे— उनीहरूलाई अरू कसैको वास्ता नभएकोले होइन, बरु यसकारण किनकि उनीहरू एक्लै आनन्दित भएर रहन सक्थे । त्यसबेलाको समाजले रुचि देखाएको भए सायद उनीहरू पनि समाजको अङ्ग बनेर रहन्थे होला ।
खोक्रो पिँढी
अहिले हामी इतिहासको यस्तो कालखण्डमा आइपुगेका छौँ, जहाँ हामी खोक्रो पिँढी भएका छौँ । उदाहरणको लागि, मेरा बुबाको पालामा उहाँहरू आफ्नो जीवनको जस्तोसुकै व्यक्तिगत घटनाहरूबारे कहिल्यै अरू कसैसँग चर्चा गर्नुहुन्न थियो— उहाँहरू त्यसलाई आफूभित्रै सम्हाल्नु हुन्थ्यो अनि जीवन चलाउनु हुन्थ्यो । त्यसपछि मेरो पिँढी शुरु भयो । विश्वविद्यालयमा हुँदाखेरी म बाहिर बगैँचामा बस्थेँ । प्रत्येक दिन कोही न कोही आउँथे अनि मलाई आफ्नो पूरै जीवनकथा सुनाउँथे । रुचिकर जीवन नभए तापनि उनीहरू मलाई सुनाउन चाहन्थे । उनीहरू कसरी आफ्ना आमाबाबु, आफ्नो पढाइ, आफ्नो गरीबी, आफ्नी प्रेमिका वा प्रेमीबाट निरन्तर प्रताडित भइरहेका छन् भन्ने बकम्फुसे गुनासो मात्र सुनाउँथे । त्यसबेला म उनीहरूका सब कुराहरू सुन्थेँ— सबैसँग कुनै न कुनै समस्या हुन्थ्यो । मलाई चाहिँ आफू विचित्र प्राणी हुँ जस्तो लाग्थ्यो, किनकि मसँग कुनै समस्या हुँदैनथ्यो ।
मेरा बुबाको पिँढीमा उहाँहरूले दैनिकी लेख्ने गर्नुहुन्थ्यो । मेरै पिँढीमा पनि धेरै मानिसहरूले आफ्नो जीवनका सबै पक्षहरू समेटेर दैनिकी लेख्ने गर्थे, अनि उनीहरू त्यो कसैलाई देखाउन चाहँदैनथे । यदि केही गरी कसैले शुरुको पाना खोल्यो भनेमात्र पनि उनीहरू निकै दुःखी हुन्थे । “मेरो जानकारीबिना तपाईंले मेरो दैनिकी कसरी खोल्न सक्नुभयो ?”— त्यसो गर्नु अपराध जस्तै हुन्थ्यो ! तर, अहिलेको पिँढीलाई हेर्ने हो भने, उनीहरू आफ्नो जीवनको हरेक पक्षहरू फेसबुकमा राखिरहेका हुन्छन्, अनि यहाँ सम्म कि यदि त्यो कसैले हेरेन भने उनीहरू निकै दुःखी हुन्छन् । जस्तै कि, “म नास्ता गरिरहेको छु,”— फोटो अपलोड ! “म आइसक्रिम चाटिरहेको छु,”— फोटो अपलोड ! अनेक थरीका कुराहरू फेसबुकमा अपलोड गरिएका हुन्छन् ।

यदि हामीले वास्तवमै यस धरतीका मानिसहरूलाई रूपान्तरण गर्नुपर्ने हो भने, आगामी १५ देखि बढीमा ३० वर्षसम्म मात्र हामी उनीहरूसँग काम गर्न सक्नेछौँ । त्यसपछि, उनीहरूसँग काम गर्न अत्यन्तै कठिन हुनेछ ।

एक प्रकारले हेर्ने हो भने, अहिलेको पिँढी खोक्रो भएको छ । एउटा पिँढीको रूपमा मानिसहरू यस हदसम्म खोक्रो भइरहेका छन् भने, अवश्य नै रूपान्तरणको समय भएको छ— यो उत्तम समय हो । यस्ता थुप्रै कुराहरू छन्, जसलाई म यहाँ स्पष्ट रूपमा बताउन सक्दिनँ । यदि हामीले वास्तवमै यस धरतीका मानिसहरूलाई रूपान्तरण गर्नुपर्ने हो भने, आगामी १५ देखि बढीमा ३० वर्षसम्म मात्र हामी उनीहरूसँग काम गर्न सक्नेछौँ । त्यसपछि, उनीहरूसँग काम गर्न अत्यन्तै कठिन हुनेछ । अवश्य पनि केही मानिसहरू इच्छुक हुनेछन्, केही अरू अनिच्छुक हुनेछन् । तर, साधारणतया हेर्ने हो भने, अबको १५ देखि ३० वर्षसम्म मानिसहरूको ठूलो आवादी सही अर्थमा साँच्चिकै इच्छुक हुनेछन् । त्यसपश्चात, विविध कारणहरूले गर्दा स्थिति जटिल र कठिन हुनेछ ।
सीमित समयको लागि रहेको सम्भावना
तसर्थ, हामी एकदमै उपयुक्त समयमा यहाँ छौँ । यदि हामीले सही काम गऱ्यौँ भने, हामीले अधिकांश मानिसहरूको जीवनलाई छुन वा प्रभाव पार्न सक्छौँ । तर, यदि समय बित्यो र यो पिँढी पनि गयो, अनि मानिसहरू फेसबुक र यावत् कुराहरूबाट बाहिर निस्किए भने, त्यसबेला परिस्थिति अत्यन्तै कठिन हुनेछ । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, यदि हामीले आउँदो २५–३० वर्षमा विश्वभरि पर्याप्त मात्रामा र शक्तिशाली रूपमा योगलाई फैलाउन सकेनौँ भने, विश्वको नब्बे प्रतिशतभन्दा बढी जनसङख्याले कुनै न कुनै प्रकारको नशाको सहारा लिनेछन् । यदि उनीहरू नशाको लतमा फसे भने, तपाईं उनीहरूसँग कुरा पनि गर्न सक्नुहुन्न । दुर्भाग्यवश, विश्व तीव्र गतिले त्यही ठाउँमा अघि बढिरहेको छ । यदि तपाईंले उनीहरूलाई यहाँ यत्तिकै बसरे आफ्ना सीमाहरू मेटाउने योग–मार्ग देखाउनु भएन भने, उनीहरू यस प्रकारले विभिन्न रसायनहरू (chemicals) प्रयोग गर्नेछन्, जुन ठीक होइन । त्यो तरिकाले केही मिनेट वा घण्टाको लागि काम गर्ला— तर, त्यसको प्रभाव सकिएपछि अवस्था अत्यन्तै भयानक हुनेछ ।

अहिले सही समय हो, र यस धरतीमा हाम्रो समय हो । यदि हामी प्रतिबद्ध र दृढ रहने हो भने, यो समयलाई हामी मानवताको इतिहासकै सर्वोत्तम समय बनाउन सक्छौँ, किनकि हामी पहिले कहिल्यै यति सशक्त र सक्षम थिएनौँ । कम्तीमा पनि मानिसहरूको जीविका पहिलेको तुलनामा निकै सुदृढ भएको छ, दुर्भाग्यवश अरू प्राणीहरूका हकमा त्यो अझै सम्भव भएको छैन । मानिसहरूका लागि पहिले कहिल्यै यति धेरै आरामको साधनहरू, यति धेरै सुबिधाहरू उपलब्ध थिएनन् । यदि हामीले अहिल्यै सही काम गरेनौँ भने, पछि निकै ढिलो हुनेछ, किनकि त्यसबेला परिस्थितिहरू निकै भिन्न हुनेछन् । यो आँकलन गरिएको छ कि कृत्रिम बुद्धि (Artificial Intelligence) को उदयसँगै सम्भवतः अबको सत्तरी वर्ष जतिमा ४०–५० प्रतिशतको हाराहारीमा मानिसहरूले आत्महत्या गर्न सक्नेछन् । किनकि, यदि त्यहाँ गर्नुपर्ने केही रहेन भने, मानिसहरूलाई आफ्नो जीवनमा कुनै औचित्य नरहेको लाग्नेछ ।

साभार: https://isha.sadhguru.org/

Related Posts

by
Previous Post Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 shares