आफ्नै यात्रा : स्मृतिका घुम्तीहरू

मलाई थाहा छ—जीवनको यात्रा सजिलो हुँदैन। प्रत्येक मोडहरु, प्रत्येक घुम्तीहरुले केही न केही सिकाईरहेको हुन्छ, कहिले काहीँ असह्य पीडा दिन्छ , कहिले वरवरी आँसु खसाउँछ। यिनै मोडहरू मेरा जीवनका अनुभवका पाना बनेका छन्, जसले मलाई यहाँसम्म ल्याइपुर्‍याएको छ।

जीवनको आरोह-अवरोहले धेरै कुरा सिकाएको छ, धेरै सहन सक्ने बनाएको छ। आज पनि, जब म कुनै यात्रामा निस्कन्छु—विशेष गरी गाउँतिरको यात्रामा—ती बाल्यकालका झ-झल्कोहरू फेरि फेरि आँखामा झल्किन थाल्छन्। खोलामा माछा मार्दै, बगरमा हाम फाल्दै, साथीहरूसँग गाउँ घर डुल्दै गरेका ती दिनहरू अझै पनि मानसपटलमा ताजा छन्।

यात्रामा देखिने दृश्यहरू मेरा स्मृतिलाई चिच्याएर बोलाइरहेका जस्ता लाग्छ—“तिमीलाई सम्झना छ?” हो, मलाई ती सबै कुरा सम्झना छ। मलाई थाहा छ, यहाँसम्म आइपुग्न मैले कति संघर्षहरू गरेँ, कति पीडाहरू सहँदै हिँडेँ। कति पटक त आफ्नै अनुहार ऐनामा हेरेर रुने गरेका छु। कति पटक आफैंलाई यो संसारसँग तुलना गरेर चुपचाप भक्कानिएको छु।

यी सबै अनुभूति, यी यादहरू—यी नै त हुन्, जसले मेरो जीवनलाई अर्थ दिएका छन्। यात्रा केवल गन्तव्यसम्म पुग्ने साधन होइन, यो त स्मृतिको संगालो हो, जीवनको दर्पण हो। हरेक मोडमा म आफैंलाई भेटिरहेको छु—कहिले बच्चा भएर, कहिले सपनाहरू बोकेको किशोर भएर, कहिले पीडामा चिसिएको युवा भएर।

अहिलेसम्म आइपुग्दा बुझें—संसार सँग भन्दा पनि, आफूभित्रको यात्रा सँग लड्नै गाह्रो रहेछ। तर, यही यात्रा नै त हो, जसले मलाई म बनाएको हो।

 

Leave a Reply